nepalaya

पलेँटीमा प्रकाश गुरुङ

Oct 25, 2006

Listen to this news

Audio version available

पलेँटीमा प्रकाश गुरुङ

पलेँटी शृंखला अन्तरगत अब्टोम्बर महिनाको शृंखला प्रस्तुति हुने तयारी पुरा भएको छ । यस महिनाको पलेँटीमा  सहभागी हुन सुप्रसिद्ध सङ्गीतकार तथा गायक प्रकाश गुरुङ पलेँटीका वाद्यवादक कलाकारसित मानभवन स्थित ‘आर’शालामा अभ्यासरत रहेका छन् ।

नेपाली सङ्गीत जगतका निम्ति चीर परिचित सङ्गीतकार प्रकाश गुरुङ गायनमा पनि मौलिकता रहेका कलाकार हुन् । प्रकाश गुरुङ नेपाली आधुनिक सङ्गीत जगतमा आजभन्दा करीब ४ दशक पहिलेदेखि नै सिर्जनशील कलाकार हुन् ।

हरिमान गुरुङको नामलाई दार्जिलिङको सङ्गीत जगतमा बडो इज्जतका साथ लिइन्छ । तत्कालिन दार्जिलिङमा हरिमान गुरुङ सिद्धहस्त संगीत ज्ञाता थिए । १९५३ मा प्रकाश गुरुङको जन्म उनै हरिमानका सुपुत्रका रुपमा भयो । उनलाई सङ्तीतर्फ घरायसी सङ्तले नै आकर्षित गर्‍यो । साथसाथै कलिलो उमेरमै अम्बर गुरुङ, शरण प्रधान, कर्म योञ्जन, गोपाल योञ्जन जस्ता हस्तीका सङ्तले उनलाई अझै निखार्दै लग्यो ।

काठमाण्डौ भित्रेपछि पनि साङ्गीतिक ज्ञानको जिज्ञासालाई गुरु रङ्गराव कादम्बरीमार्फत निरन्तर राखिरहे प्रकाशले । अनेकौं गायक गायिकाका स्वरनिम्ति दर्जनौं लोकप्रिय सङ्गीत सिर्जेका प्रकाश, विविध बजाका वाद्यवादनमा पनि पोख्त मानिन्छन् । आधुनिक, अत्याधुनिक र सिने सङ्गीतमा समेत स्थापित प्रकाश गुरुङले सिर्जना गरेका गीतमासुन–चाँदीभन्दा, जोवन यसै बितीसक्यो, म सम्झन्थेँ, धेरै नजिक, सडक जिन्दगी हो, बोल बोलजस्ता अनेकौं चर्चित र स्तरीय गीतहरु छन् ।

अक्टोम्बर महिनाको पलेँटी, लामो समयदेखि सिर्जशील सङ्गीतकार प्रकाश गुरुङको जीवनकै पहिलो एकल गायनको  पलेँटी हुनेछ । सङ्गीतकारको सिर्जनाको अभिव्यक्ति उनको आफ्नै मौलिक स्वरमा सुन्न पाउनु नै  यसपालीको पलेँटीको विशेषता हुनेछ ।

‘पलेँटी शृंखलाले नेपाली आधुनिक सङ्गीत (सुगम सङ्गीत) को वतावरणमा सकारात्मक सोच विकाश गर्दै छ भन्ने विश्वाशले म पलेँटीमा भागलिँदै छु । पलेँटीमा म आफ्ना राम्रा सिर्जनाहरुलाई आफ्नै हृदयको गहिराइबाट अभिव्यक्त गर्ने प्रयास गर्नेछु । आशा छ पलेँटीका श्रोताले पनि हार्दिक आनन्द पाउनु हुनेछ ।’ पलेँटीनिम्ति म सम्झन्थेँबोलको गीत अभ्यास गर्दै गरेका प्रकाश गुरुङको टिप्पणी थियो ।

‘प्रकाश दाइ जस्तो बहुप्रतिभाशाली सङ्गीतकारलाई पलेँटीमा प्रस्तुत गर्न पाउनु हाम्रालागि उत्साहको विषय हो । उज्यालो पर्व तिहारको लगत्तै हुने पलेँटीले नेपाली सङ्गीतको उज्यालोमा थोरै भए पनि तेल थप्ने आशा छ ।’ पलेँटी शृंखलाका संयोजक आभासको भनाइ थियो ।

नेपालयले सञ्चालन गर्दै आएको पलेँटीमा प्रकाश गुरुङभन्दा पहिले भीम विराग, शान्ति ठटाल, कुमार सुब्बा, कर्म योञ्जन, डेजी बराइली, मञ्जुल, फत्तेमान र दावा ग्याल्मो जस्ता संगीत हस्तीहरूको नाम जोडिइसकेको छ ।

प्रकाश गुरुङको पलेँटी
स्थानः नेपा~लय ‘आर’शाला
मितिः २७, २८ अक्टोम्बर २००६– शुक्रबार, शनिबार
समयः बेलुकी ५ः३० बजे