nepalaya

गायक फत्तेमानको स्टुडियो रेकर्डेड पहिलो एकल एलबम

Mar 10, 2005
गायक फत्तेमानको स्टुडियो रेकर्डेड पहिलो एकल एलबम

‘गायक फत्तेमान ७०मा
श्रोता सामु छिट्टै आउने

फत्तेमान

गायक फत्तेमान नेपाली सङ्गीत साधनाका जिउँदा इतिहास हुन् । उनको ओजिलो आवाज सुन्दा यस्तो लाग्छ, उनी नेपाली हृदयभित्रका आँसु, हाँसो, विरह र आशाका सम्पूर्ण  अभिव्यक्ति  हुन् । उनका सरल गीत र गहन अभिव्यक्तिले सङ्गीतका पारखीलाई त लठ्याउँछ नै । त्यस बाहेक सङ्गीतमा रुची राख्ने जो कोहीलाई पनि उनको ओजिलो आवाजको माधुर्यले घण्टौं बाँध्न सक्छ । फत्तेमानले गीत गाइरहँदा सुन्नेहरूलाई यस्तो लाग्छ, उनको मधुर कण्ठको माध्यमबाट सुन्नेहरूको आफ्नै आन्तरिक कथा उजागर भैरहेछ ।

रेडियो स्थापनाको प्रारम्भकाल, २०१८ सालतिर फत्तेमानले रेडियोमा प्रत्यक्ष गायनमार्फत् आफ्नो आवाजलाई श्रोता सामु पुर्‍याए । त्यही आवाज भजनमार्फत् २०२० मा रेकर्ड भयो । सङ्गीतकार नातिकाजीले तयार गरेको भाकामा यादव खरेलको गीत यस्तो पनि हुँदो रै’छ(२०२५) ले फत्तेमानलाई वर्षका उत्कृण्ठ गायक मात्र बनाएन, लोकप्रियताको उच्च शिखरमा पनि पुर्‍यायो । फत्तेमानले जीवनका ७० बसन्त पार गरी सक्दा पनि आफ्नो कण्ठको माधुर्यलाई अझै तिखारिरहेकै छन् । नयाँ–नौला सिर्जना गुनगुनाइरहेकै छन् । शिखरमा पुगेको उनको त्यही युगान्तकारी लोकप्रियता यद्यपि कायम छ ।

गायक फत्तेमान ७० मा

फत्तेमानको सङ्गीत यात्रा नेपाली–अधुनिक सङ्गीतको प्रारम्भिक कालमै शुरु भएको हो । रेडियोको स्थापनासितै नेपाली सङ्गीतको पहिचान खोज्दै हिंड्ने अनेकौं साङ्गीतिक यात्रीहरू बीच फत्तेमानको मौलिक पहिचान छ । फत्तेमानको समय सङ्गीतलाई भक्ति र शोखको रुपमा अपनाउने समय थियो । त्यसैले त्यो बेलाका कलाकारहरूमा ब्यावसायिक प्रतिस्पर्धाले खास स्थान पाउँदैनथ्यो । त्यसबखतका कलाकर्मी आत्मरञ्जनमा बढी रम्थे । फत्तेमान पनि लामो समय यही आत्मरञ्जनमा रमाए । एकान्तमा एक्लै गुनगुनाइरहे ।

सन् २००२ मा फत्तेमानको साङ्गीतिक जीवनले एउटा सुखद मोड भेट्यो । मोडमा ब्यवस्थापन संस्था नेपा~लय र साङ्गीतिक कलाकार आभास भेट भए । वर्षौं अल्पेका फत्तेमान एकपटक फेरि साङ्गीतिक चर्चाको विषय बने । प्रत्यक्ष गायनले (Live performance) फत्तेमानलाई साङ्गीतिक संसारमा फेरि एकपटक पुनः परिचित गरायो । नेपा~लयर आभाससित फत्तेमानको सङ्गत प्रगाढ हुँदै गयो । फत्तेमानलाई नयाँ सिर्जनामा स्वरवद्ध गर्न नेपा~लयर आभासबीच अनेकौं सु–छलफल सम्पन्न भए । आभासले आफूसित भएका नयाँ सिर्जनालाई फत्तेमानका निम्ति संयोजन(Arrangement) गर्न थाले । नेपाली–आधुनिक शैलीमै सिर्जनारत आभासलेMIDIप्रविधिमा सङ्गीत संयोजन प्रारम्भ गरे । महिनौंको मेहनत पश्चात धुनका असली मुहार कोरिए । नयाँ सिर्जनालाई मूर्तरुप दिन फत्तेमान र आभासले अनेकौं पटक आफूहरु सामु हार्मोनियमलाई गुञ्जाए ।MIDI Programming मा रहेका अधिकांश विद्युतीय आवाजका(Digital sound) ठाउँमा मौलिक वाद्ययन्त्र(Acoustic instrument) लाई पुनःर्थापन गरिए । जीवनको उत्तरार्धमा पुगेका फत्तेमानले कयौं बिहानी आफूलाई स्टुडियोमा ताजा रुपमा प्रस्तुत गरे र नयाँ सिर्जनामा आफ्नो स्वरमाधुर्य भरे । तिनै आदरणीय गायक फत्तेमानको ‘सुनौलो आवाज’(Golden voice) मा अङ्कित नौलो सिर्जना “गायकफत्तेमान ७० मा ” अब श्रोताहरु सामु आउने पूर्व तयारीमा रहेको छ ।