nepalaya

पलेँटी शृङ्खलाका पूरै भाग अबदेखि युट्यूबमा पनि

Nov 29, 2019
पलेँटी शृङ्खलाका पूरै भाग अबदेखि युट्यूबमा पनि

नेपालयले सन २००५ देखि संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी शृंङ्खला'का कार्यक्रम अबदेखि युट्यूबमा पनि हेर्न पाइने भएको छ । यस अघि पनि 'पलेँटी नेपालय'को नाममा रहेको युट्यूब च्यानलमा पलेँटीमा गाइएका गीतहरू सुन्न सकिन्थ्यो । तर अब भने नेपालयको 'आर'शालामा प्रस्तुत हुने कार्यक्रमको पूरै कार्यक्रमको प्रत्यक्ष रेकर्डिङ हेर्न पाइने भएको हो । पलेँटीको पूर्ण शृङ्खला साबिककै च्यानल 'पलेँटी नेपालय'मा हेर्न, सुन्न सकिन्छ ।

 नेपालयले जानकारी गराए अनुसार सन् २०१९ देखिका पलेँटी शृङ्खलालाई क्रमशः अपलोड गरिने भएको छ । हरेक कार्यक्रमलाई ४ वटा शृङ्खलामा बाँडिएकोले दर्शक, श्रोताले आफ्नो अनुकुलता अनुसार पलेँटीको आनन्द लिन सक्ने छन् ।

 'आर'शालामा प्रत्यक्ष प्रस्तुत भएको कार्यक्रमको रेकर्डिङ भएको हुनाले कार्यक्रम हेर्दा लाइभको जिवन्तता पनि महसुस गर्न सकिने छ ।

 'पलेँटी कार्यक्रमको अनुभवलाई 'आर'शालाको सिमित उपस्थितिबाट बाहिर बाँड्न २०१९ देखिका शृङ्खलालाई क्रमिक रुपमा सार्वजिनिक गर्ने व्यवस्था मिलाएका हौं' आयोजक संस्था नेपालयका किरण कृष्ण श्रेष्ठले जानकारी गराए ।

 'नेपाली आधुनिक गीतलाई अभिलेखमा राख्ने उद्देश्यले पलेँटी कार्यक्रमलाई रेकर्ड पनि गर्दै आएका थियौं । अब नेपाली संगीत प्रेमीहरूले यस कार्यक्रमको प्रस्तुति पक्षलाई पनि अनुभूत गर्न पाउने छन्' कार्यक्रम संयोजक आभासको भनाई थियो ।

 'पलेँटी शृङ्खला' युट्यूबमा अपलोड गर्ने दिन पनि कार्यक्रम आरम्भ हुने गरेकै वारलाई छनोट गरिएको कुरा नेपालयले जानकारी गराएको छ । त्यसैले आज गएको मार्च महिनामा प्रस्तुत भएको पलेँटीको पहिलो शृङ्खला युट्यूबको यो लिंक

https://youtu.be/BwM4MOY1R0o मा हेर्न, सुन्न सकिने छ जसमा लोकप्रिय गायिका मीना निरौलाले नेपाली आधुनिक संगीतका प्रतिनिधि महिला गायिकाका रचनालाई आफ्नो स्वरमा समेटेकी छिन् । अब आगामी ४ हप्तासम्म नेपाली संगीतमा महिला गायिकाहरूको चर्चा रहेका शृङ्खलाहरू क्रमशः अपलोड हुनेछन् ।