nepalaya

स्वप्न बगैँचामा आभास

Oct 19, 2006

‘स्वप्न बगैँचा’मा २० अक्टोबरको साँझ आभासको प्रभावशाली सांगीतिक प्रस्तुति आयोजना हुने भएको छ । व्यवस्थापन संस्था नेपालय आयोजक रहेको आभासको प्रस्तुति केशर महल स्थित ‘स्वप्न बगैँचा’को उद्घाटन महोत्सव अन्तरगतको कार्यक्रम हो ।

आभास पूर्वीय र पाश्चात्य दुबै शैलीका सङ्गीतमा गहन चासो राख्ने साङ्गीतिक सर्जक र सिर्जनशील खोजकर्ता हुन् । आभासको साङ्गीतिक शैली नेपाली आधुनिक (Contemporary) शैली अन्तरगत पर्दछ । यो शैलीभित्र गीतले अँगाल्नु पर्ने तीनवटै पक्षहरू– काव्यात्मकता, साङ्गीतिक सिर्जनशीलता र गायनको समानान्तर भूमिका रहेको हुन्छ । जसले सिर्जना अति प्रभावशाली र कालजयी हुनेगर्छन् ।

आभास गीतका शब्द चयनमा अति गम्भीर चेतना बोकेका सङ्गीतकार हुन् । उनी आफैँ कुशल गीतकार पनि भएकाले शब्दसित पूर्णरुपले सन्तुष्ट नहुन्जेल त्यसलाई सङ्गीतमा ढाल्ने जमर्को नै गर्दैनन् । हालसम्म उनका १० वटा गीतमात्र रेकर्ड भएका छन् । यद्यपि आभासले करीब ५० औं गीतहरु आफ्नो साङ्गीतिक भण्डारमा पूर्ण तयारीका साथ सँग्रह गरेका छन् । उनी त्यही भण्डारमा रहेका गीतहरु लिएर आफ्नो कार्यक्रममा प्रस्तुत हुनेछन् ।

आभासका गीतले सामान्यतया जीवनका दुई पाटाहरुलाई उजागर गर्ने गर्छन् ।
१. प्रेम, खुशी र विरह उन्मुख
२. सामाजिक धरातल उन्मुख

यिनै दुई धारभित्र रहेर जीवनका बहु आयामिक क्षेत्रलाई अँगाल्नु आभासको कलाकारिताको विशेषता हो ।

आभास कहिलेकाँही शब्द–प्रधान सङ्गीतबाट हटेर पनि सिर्जना गर्न रुचाउछन् । यस अन्तरगत उनले अनेकौं वाद्य–सङ्गीत ( Instrumentals ) रचनाहरु सिर्जना गरेका छन् ।

आभास नेपाली आधुनिक सङ्गीतमा गम्भीरताका साथ रुचाइएका कलाकार हुन् । उनकै स्वरमा रहेको एउटै मात्र एकल एलबम पला... पला... भित्र आभासको गीत सङ्गीत र गायनको गम्भीरतालाई परख गर्न सकिन्छ ।

स्वप्न बगैँचामा करीब एक दर्जन वाद्यवादक संलग्न टोलीका साथ आफ्ना सिर्जना प्रस्तुत गर्ने आभासको गायन करीब दुई घण्टासम्म सञ्चालन हुनेछ ।