nepalaya

पलेँटीमा कुमार सुब्बा, कर्म योञ्जन

May 23, 2006
पलेँटीमा कुमार सुब्बा, कर्म योञ्जन

पलेँटी शृंखला अँन्तरगत डेजी बराइली, भीम विराग, शान्ति ठटाल र मञ्जुलको सफल प्रस्तुति पश्चात पाँचौ शृंखलाको प्रस्तुति हुने तयारी पुरा भएको छ । पाँचौ पलेँटी शृंखलामा भाग लिन सुप्रसिद्ध गायक कुमार सुब्बा दार्जिलिङ्बाट काठमाण्डौ आइपुग्नु भएको छ । यस पलेँटीमा गायक सुब्बासित सुप्रसिद्ध सङ्गीतकार कर्म योञ्जन पनि सम्लग्न रहनु भएको छ ।

नेपाली सङ्गीत जगतका निम्ति कुमार सुब्बा, कर्म योञ्जन नयाँ नाम होइनन् । यो जाडीका अनेकौं गीत नेपाली श्रोताहरू बीच वर्षौदेखि लोकप्रिय रहँदै आएका छन् । चाहे ‘हे फूल चुँडेर लाने हो’ मार्फत् होस् या ‘सारङ्गीको तारले मेरो मनको गीत गाउँछ’ मार्फत् अथवा ‘मेरो सानो मुरलीमा’ गीतका मार्फत् होस् कुमार सुब्बा, कर्म योञ्जन श्रोता बीच मधुर गायक र सङ्गीतकारका रुपमा स्थापित हुनुहुन्छ । यीनै चर्चित गीतका माध्यमबाट कुमार–कर्म एकअर्काका परिपूरक झैं चिनिनुहुन्छ ।

नेपाली नाट्यजगतमा नमुना स्थान बनाउन सफल नाटक ‘अनि देउराली रुन्छ’ का अधिकांश गीत नेपाली जगतमा साह्रै नै लोकप्रिय भए । मन बहादुर मुखियाको यस नाटकले कुमार–कर्मलाई सदाबहार कलाकारका रुपमा स्थापित गराएको हो ।

१९७२ मा बनेको ‘अनि देउराली रुन्छ’ पछि आएका मुखियाका ‘क्रसमा टााँगिएको जिन्दगी’, ‘फेरि इतिहास दोहोरिन्छ’, ‘असत्यम–अशुभं–असुन्दरम’ नाटकमा पनि कुमार–कर्मकै जोडीको साङ्गीतिक कमाल देखिएको थियो ।

‘यो जीवन र आवाज समेतलाई सधै“ हरियै राखौं भन्ने लाग्थ्यो । यही आफ्नो हरियालीलाई नेपाली शुभेच्छुकमाझ देखाउन र सुनाउन म अहिले पलेँटीमा आएको हुँ । यसबेला केही पुराना र केही नयाँ गीत समेत सुनाउनेछु । गोपाल योञ्जनको शब्द/संगीतका नयाँ गीत पनि सुनाउनेछु ।’ नेपा~लयको ‘आर’शालामा पलेँटीको अभ्यासका व्रममा आफ्नो अनुभूति सुनाउदै कुमार सुब्बाले भन्नुभयो ।

यसैक्रममा पलेँटीका बारेमा सङ्गीतकार कर्म योञ्जनको टिप्पणी थियो– ‘पलेँटीले दार्जिलिङ् र नेपाल बीचको साङ्गीतिक मित्रतालाई फेरि जगाएको छ ।’

‘कुमार दाइ, कर्म दाइ जस्ता अग्रजलाई पलेँटीमा सम्लग्न गराउन पाउनु नै एउटा सुखद घटना हो ।  गौरवको विषय हो । हप्तौं पहिले नै उहाँहरु संलग्न पलेँटीका टिकट विक्री भइसकेका छन् । पलेँटीले आधुनिक गीत सुन्ने प्रवुद्ध श्रोताहरुलाई आकर्षण गर्न सफल  भएकोमा औधी खुसी लागेको छ ।’ पलेँटी शृंखलाका संयोजक आभासको भनाइ छ ।

नेपा~लयले सन् २००६ भरि १२ वटा पलेँटी शृंखला गर्ने आयोजना अनुरुप, हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार यो कार्यक्र संचालन गर्दै आएको छ ।

कुमार–कर्मको पलेँटी
स्थानः नेपा~लय ‘आर’शाला
मितिः २६, २७ मे २००६ शुक्रबार, शनिबार
समयः बेलुकी ५ः३० बजे