nepalaya

इलामको रमणीय पाखामा नेपथ्य

Mar 10, 2024
इलामको रमणीय पाखामा नेपथ्य

सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ । चर्चित ब्याण्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी ठूला सहर बजारमा नभइ इलामको सुर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदैछ । लाप्चा भाषामा ढुकुरलाई करफोक भनिन्छ ।

जतिबेला नेपालमा काठमाडौं उपत्यका बाहिर विरलै वृहद् साहित्यिक कार्यक्रम हुन्थ्यो त्योबेला अर्थात् २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछानेलगायतका साहित्यकारहरु भेलाभएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना गरेको इतिहास छ ।

नेपथ्यले आफुलाई प्रस्तुत गर्नलागेको पाखो त्यस भेगकै अर्को ऐतिहासिक महत्व राख्ने करफोक विद्यामन्दिरको परिसर हो ।

कुनै समय आयामेली लेखक इन्द्रबहादुर राइ अनि मुलुककै मूर्धन्य कला समीक्षक (पछि गोरखापत्रका सम्पादक) नारायणबहादुर सिंहजस्ता हस्तीहरु प्रधानाध्यापक रहेको अनि अर्का समालोचक तारानाथ शर्मा शिक्षक रहेको यो विद्यालयको शिलान्याश २०१० सालमा तत्कालीन युवराज महेन्द्रले गरेका थिए ।

यो मैदानमा वर्षेनी राष्ट्रिय स्तरकै फुटबल प्रतियोगीता समेत आयोजना हुदै आएको छ ।